समाचारसमाज

माझठाना सम्पर्क समाजको तिज विशेष एवम् सम्मान

हरिप्रसाद बास्तोल, । माझठानामा जन्मस्थान भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको संस्था माझठाना पोखरा सम्पर्क समाजद्धारा तिज विशेष एवम् सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।
पोखरा सितलदेवीस्थित बरालडाँडा तमु समाजको भवनमा आयोजित कार्यक्रममा समाजमा आवद्ध महिलाले नाचगान गर्दै सामूहिकरुपमा दर खाएर माईती र चेलेबेटी बीच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमको उद्घाटन गर्दै वडाको विकास निर्माणमा समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँले वडाको विकास निर्माणसंगै समृद्धिको अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आवश्यक सल्लाह र सुझावको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीबाट २०७८ सालको एसईई परिक्षामा सर्वोत्तकृष्ट अंक ल्याउन सफल रचना तिवारीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य डाल्डादेवी भुजेल, सल्लाहकार प्रा.डा.निर्मल लामिछाने,घरेलु तथा साना उद्योग केन्द्रीय सदस्य गिता तिवारी, डा. शान्ता खत्री पौडेल, संस्थाको उपाध्यक्ष भोला ओझा लगायतले हरितालीका तिज पर्वको महत्व माथि चर्चा गर्नु भएको थियो ।
संस्थाले महिलाहरुको महान पर्व तिजको अवसरमा यही १० गते शुक्रवार पोखराको अमरसिंह चोकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने समाजका सचिव रामकृष्ण तिवारीले जानकारी दिनुभयो ।

the authoradmin