नेपालअखबार, काठमाडाैं । दुबईमा एक लाख तलब हुने भन्दै रोजगारीमा लगाइदिने बहाना बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नवलपरासी घर भई गोंगबु बस्ने वर्ष ५४ को भोज बहादुर चौधरीलाई पक्राउ गरेको हो ।
उनले नरबहादुर थनेतलगायतलाई दुबई जानको लागि प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि आर्म्स गार्डको काम लगाइदिने भन्दै रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ । उनले थनेतलगायतका पीडितहरूबाट ३८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
विभागको पत्राचारपछि अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चौधरीलाई सामाखुसीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।