Friday, April 24

युएम साकोस खाडीचौरको ११ औं साधारण सभा सम्पन्न

नेपालअखबार  । युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेड खाडीचौर सेवा कार्यालयले बिहिबार ११ औं साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभामा सहकारी संग आबद्ध भई बिभिन्न बिद्यामा उत्कृष्टहरुलाई सम्मान गरिएको सेवा कार्यालयका प्रमुख दिनेश तामाङले बताउनुभयो । उक्त सभामा उत्कृष्ट बाल बचत तर्फ ऐलिना श्रेष्ठ, उत्कृष्ट बचतकर्ता शुभलक्ष्मी श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता अन्जना श्रेष्ठ, उत्कृष्ट ऋणी सचिना सिलवाल कार्की, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता रेलिमाया पराजुलीलाई सम्मान गरिएको प्रमुख तामाङले जानकारी दिनुभयो ।

Advertisement

उनीहरुलाई प्रमुख अतिथि बलेफी गाउँपालिका–७ का अध्यक्ष गृबिन्द्र चौलागाँइको बाहुलीबाट सम्मान गरिएको थियो । उक्त सहकारीका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा सेवा कार्यालयको बार्षिक प्रगति प्रतिबेदन सेवा कार्यालय प्रमुख तामाङले प्रस्तुत गरेका थिए भने सम्पूर्ण शाखाको प्रगति प्रतिबेदन प्रमुख कार्यकारी अधिकृत रुशन श्रेष्ठले प्रस्तुत गरेका थिए ।

काभेपलाञ्चोकको बनेपामा प्रमुख कार्यालय रहेको उक्त सहकारीको चौतारा, बाह्रबिसे, खाडीचौर, पाँचखाल, पनौती, भकुण्डे, सिपाघाट, मेलम्ची गरी कूल ९ शाखा कार्यालय रहेको छ । सबै शाखामा गरेर ९२ करोड वसलात र कूल सदस्य १७ हजार रहेको सो सहकारीले जनाएको छ ।