Friday, April 24

पाकिस्तानमा बाढीका कारण एक हजार ७ सयको मृत्यु, २० लाख घर ध्वस्त

नेपालअखबार, एजेन्सि। पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ।

यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले बिहीबार राति जनाएको छ।

Advertisement

एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र तीन सय ४० महिला छन्।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो। यहाँ सात सय ६३ व्यक्तिको मृत्यु भएको छ।

त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा तीन सय ३६ जनाको मृत्यु भएको छ। उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको छ।

वर्षाका कारण देशभर २० लाख ४८ हजार  सात ८९ घर ध्वस्त भएका छन् भने एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा एनडिएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी छ।रासस