Tuesday, July 14

युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

नेपालअखबार, बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले  जानकारी दिएको छ ।

Advertisement

हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।

Advertisement
Advertisement

मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी थिइन् । हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।

भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको बताइएको छ ।  माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ ।