Friday, March 13

सांसद चौधरी कारागार चलान

नेपालअखबार, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ।

बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो।

Advertisement

अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए।

ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो।

उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो। दोषी ठहर गरिएकामध्येका  वीरबहादुर चौधरीले गत शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रूपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।

वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरीले कैद सजाय भुक्तान नगरेर फरार रहेको खुल्न आएको थियो।

बिहिबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो।

कारागार चलान भएका सांसद चौधरी २०७४ सालको स्थानीय तह चुनावमा जलाइएको ट्याक्टरका धनी महादेव बजगाईँसँगै लम्कीचुहा नगरपालिको मेयरमा उम्मेद्वार बनेका थिए।

मेयरमा हारेका उनी २०७४ कै प्रदेश सभा सदस्य पदको निर्वाचनमा कैलाली–२ को ख बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार भएर निर्वाचन लडेका थिए।

२०७९ मंसिर ४ गतेको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चौधरीलाई पक्राउ गरिएपछि रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी, थारु कल्याणकारिणी सभा लगायतले  आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सरकार र तत्कालीन आन्दोनकारी थरुहट थारुवान पक्षबीच २०६६ भदौ ३ गते यो ट्याक्टर जलाइएको लगायतका मुद्दा फिर्ता लिने समझदारी भइसकेको दाबी गरेका छन्।

सम्झौता भए पनि पुरानो विषयलाई सुनियोजित ढंगले उठाइएको नागरिक उन्मुक्ति पार्टीको भनाई छ।