प्रशासनसमाचार

राजमार्गमा गुड्ने सवारी साधनसँग अवैध असुली गर्ने ४ जना पक्राउ

Nepal Akhabar

नेपालअखबार, बारा । पथलैया–वीरगञ्ज औधोगिक करिडोरमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती अवैध रकम असुली गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो ।

राजमार्गमा गुड्ने मालवाहक तथा खाली गाडीसँग अवैध रकम असुली गरिरहेको छ। अवैध रकम असुली गरिरहेको अवस्थामा आइतबार सुरज गुप्ता, चन्दन गुप्ता, पप्पु गुप्ता र श्रीकान्त पटेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । सो ठाउँमा प्रहरी पुगेपछि  ठेकदारका कामदारहरू भागेको बताइएको छ ।

कागजपत्रसहित ४ जनालाई कारबाही गर्न सफल भएको प्रहरीले बताएको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जथाभाबी कर असुली नगर्न पटकपटक निर्देशन दिएपनि ठेकदार कम्पनीले अटेर गरेका कारण कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।

जीतपुर सिमरा उपमहानगरले २ करोड ५६ लाख र परवानीपुर गाउँपालिकाले २७ करोडमा एच.एण्ड जे ट्रेडर्ससँग चालु आर्थिक वर्षको  अन्तिमसम्म करको ठेक्का सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार ठेकदारले प्रहरी र प्रशासनको संरक्षणमा राजमार्गमा अवैध असुली गर्दै आएका थिए ।

ठेकदार कम्पनीले करिडोरको डाबर नेपाल कम्पनीको पूर्वतर्फ गुड्ने गाडीसँग जीतपुर सिमरा उपमहानगरको नाममा ३२० रुपियाँ र  पश्चिमतर्फ गुड्ने गाडीको हकमा परवानीपुर गाउँपालिकाको नाममा २३० रुपैयाँको रसिद काट्दै आएका छन् ।

k2

यस्तै कवाडी सामान बोकेको गाडीसँग भने १ हजार १३० रुपियाँ असुल्दै आएका छन् । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले आन्तरिक राजस्व संकलनमा बदमासी भए प्रहरी र प्रशासनले कारबाही गर्नुपर्ने बताए ।

‘हामीले प्रशासनलाई कारबाहीको लागि लेखिपठाएका छौं, कवाडी करको नाउमा जथाभाबी राजमार्गमा बसेर रकम असुल्न पाइँदैन,’ नगरप्रमुख पौडेलले भने, ‘कवाडी कर पनि के-के शीर्षकमा कति कति उठाउने भन्ने हाम्रो आर्थिक ऐनमा उल्लेख छ, त्यसमा उल्लेख भएको बाहेक सडक उपयोगको नाममा कर उठाउन पाइँदैन ।’

परवानीपुर गाउँपालिकाको रसिद र छाप किर्ते

k1

कवाडी करको नाममा एच.एण्ड जे ट्रेडर्सले परवानीपुर गाउँपालिकाको रसिद र छाप किर्ते गरेको भेटिएको छ ।

एच.एण्ड.जे ट्रेडर्स परवानीपुरले गाउँपालिकाबाट प्रमाणित नभएको रसिद प्रयोग गरेर आफूखुसी अवैध रकम असुली गरेको परवानीपुर गाउँपालिकाले जनाएको छ । परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले ठेकदारले प्रयोग गरेको रसिद गाउँपालिकाबाट प्रमाणित नै नभएको र छाप पनि किर्ते भेटिएको बताएका छन् ।

कवाडी करको नाममा लगाइएको ठेक्कामा ठेकदार कम्पनीले रसिदमा ट्रक, ट्यांकर, ग्याँस ट्यांकर, ट्याक्टर, जिपलगायत शीर्षक छुटाएर अवैध रकम असुली गर्दै आएको छ ।

‘हामीले ठेकदारलाई दिएको रसिदमा ट्रक, ट्यांकर, ग्याँस ट्यांकर, ट्याक्टर, जिप शीर्षक छुटाएका छैनौं, ठेकदारसँग भएको रसिद गाउँपालिकाले प्रमाणित गरेको पनि छैन, यो त सिधै किर्ते भएको देखिन्छ’ गाउँपालिका प्रमुख कुर्मीले भने ‘यो विषयमा भोलि नै ठेकदारलाई पत्र काटेर स्पष्टीकरण सोधेर कारबाहीको लागि प्रशासनलाई पत्राचार गर्छु ।’

the authoradmin