Sunday, May 10

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं। अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए।

Advertisement

ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका-१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको हो।

टिकाथलीमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। त्यसपछि प्रहरीले उक्त स्थानमा निगरानी गर्न थालेको थियो।

लामो समय निगरानी गरेपछि उनीहरूले अवैध रूपमा अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गर्नेगरेको खुलेको एसपी थापाले बताए।

‘उनीहरूबाट ठूलो परिणाममा सिम कार्ड तथा अन्य अवैध उपकरणहरू बरामद गरेका छौं,ʼ उनले भने।

यस्तै उनीहरूबाट विभिन्न विदेशी मुलुकका मुद्राहरू पनि बरामद भएका छन्।

उनीहरूबाट ४ लाख ८० हजार रुपैयाँ, एक हजार ९२५ अमेरिकी डलर, २५ लाख २५ हजार इन्डोनेसियन रुपिया, एक लाख १४ हजार ७७० श्रीलंकन रूपी, १० हजार ५०० आइसल्यान्डिक क्रोन, ५ सय चाइनिज येन, २ लाख ६० हजार म्यानमार क्याट बरामद भएको हो।

दूरसंचार ऐन, २०५३ अन्तर्गत ललितपुर जिल्ला अदालतबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए।