अर्थकृषिप्रदेश ४समाचारसमाजहाइलाइट-समाचार

परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा

गोरखा । विष्णु मग्राती २०५६ साल ताका गाउँकै नवज्योती माध्यामिक विद्यालयमा शिक्षक थिए ।

गोरखा नगरपालिका–७ डण्डीडाँडाको उक्त विद्यालयको नीजि स्रोतमा झण्डै साढे ३ बर्ष पढाउदा उनलाई मनमा कत्ति सन्तोष मिलेन ।

सँगैका साथीभाई विदेश गएर कमाउन थालेपछि मग्रातीलाई प्रावि तहको तलब आँखा लाग्नै छाड्यो । त्यसपछि उनि पनि मलेशिया हानिए । धेरै पैसा कमाउने सपना बोकेर २०५९ सालमा मलेशिया गएका मग्रातीलाई विदेश पुगेपछि मात्र थाहा भयो प्रदेशीको पिडा । ‘न भाषा बुझ्ने, न काम जानेको, सुरुमा त लाटो जस्तै भइयो’ उनि सम्झनछन् ‘सुरुका केहि महिनाका रात त रोएरै कटाए, अहँ आँखा झिमिक्कै नलाग्ने ।’

बिस्तारै वातावरण सहज बन्दै त गयो तर जुन सपना बोकेर गएका थिए त्यहाँ पनि उनले त्यो सम्भावना देख्न छाडे । तर के गर्नु, जादाँ ऋण गरेका गएका उनलाई जसो तसो साहुको ऋण तिर्नुपर्ने बाध्यता पनि थियो ।

त्यति मात्रै होइन विदेश गएका छोराबाट बाबुआमाले घर चलाउने खर्च पनि आशा गरेका हुन्थे । ‘मैले जे सोचे त्यो कत्ति पनि पूरा हुने छाँट थिएन, तर के गर्नु साहुको ऋण त तिर्नै पर्ने’ उनले भने ‘गाउँमै मास्टरको जागिर छोडेर गएकाले अरु विकल्प पनि थिएन, जसो तसो संघर्ष गरिरहे ।’

साढे ५ वर्ष मलेशियामा पसिना बगाएका उनी जब नेपाल फर्कि अनि उनलाई आफ्नै गाउँघर अन्धकार लाग्न थाल्यो । देशमै केही गर्छु भन्ने सपना सझाएर नेपाल फर्केका मग्राती झनै दोधारमा परे ।

कामको कुनै अबसर नदेखेपछि उनी फेरी अरबी मुलक दुबई हानिए । २०६९ सालसम्म दुबईमा बिताएका मग्राती गाउँमै केहि गर्ने सोच सहित पुन घर फर्के ।

उनीसँग योजना थियो, नयाँ सोच पनि थियो, विदेशमा पाएको हण्डरको अनुभवपनिसँगै थियो तर तर लगानी गर्ने पैसा थिएन । ‘गाउँमै लगानी गरेर केहि गर्छु भनेर सोचेको तर पैसाका कारण रोकिनु प¥यो’ उनी भन्छन ‘धेरैतिर प्रोसेस गरे कतैबाट केहि मिलेन, सपोर्ट भएन ।’

यस बिचमा उनले विवाह पनि गरिसकेका थिए । जिम्मेवारी बढ्दै थियो । आर्थिक स्रोत थप जटिलतामा पुग्यो र फेरी गए कतार ।

त्यहाँ ४ बर्ष बिताए । पहिलाको दाँजोमा केहि रकम पनि कमाए । केहि रकम लगानी गर्न सक्ने भएर एक बर्षअघि स्वदेश फर्के ।

उनको घर वडा नम्बर ५ को रोहटेपानी हो । तर उनि हाल नयाँ योजना सहित झण्डै १० किलोमिटर तल बोहोराबेशी झरेका छन् । ‘यहाँ मेरो साढे ३ रोपनी जग्गा छ, सबै कभर गरेर पशुपालन गर्न खोज्दैछु, अहिले सुरुवाती चरणमा छु ।’ उनले भने ।

झण्डै २६ लाख लगानीमा उनले ६ हजार कुखुरा अट्ने २ वटा खोर, बंगुरको खोर, माछा पालनका लागि पोखरी निर्माण गरिसकेका छन् । त्यति मात्रै होइन फर्म नजिकै उनले एउटा किराना पसलपनि सुरु गरेका छन् ।

‘विदेशमा धेरै हण्डर खाइयो, अलिअलि पैसा त कमाइयो होला तर अहिले सोच्दा नेपालमा धेरै चिज गुमाएछु जस्तो लाग्छ’ उनले थपे ‘अब याही केहि गर्छु, जहाँ गएपनि दुख नगरी पैसा आउने होइन ।’

हाल उनले २ वटा बुंगुर सहित १ हजार कुखुराको चल्ला हालिसकेका छन् । माछा पाल्न पोखरी पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

‘सुरुवात हो, अहिले दिनरात नभनी आफै खटेकोछु, अस्ति एक हजार कुखुराबाट सुरु गरे, अब ५ हजार हाल्ने योजनामा छु’ उनले भने ‘माछा, बुंगुर, तरकारी खेतीलाई पनि बढाउछु ।’

अन्तिमसम्म झण्डै ४० लाख लगानी हुने अनुमान गरेका उनले बैङबाट ऋण लिएर फर्म सुरु गरेको बताउछन् । उनी भन्छन्, ‘विदेशी जिन्दगी पनि देखियो, अर्काको देशमा गएर दुःख पाउनुभन्दा आफ्नै देशमा केही गर्नु उचित हुन्छ भन्ने लागेर ऋणै गरेर भनेपनि काम सुरु गरेको हुँ ।’

the authoradmin

Leave a Reply