Monday, September 14

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् ।

Advertisement

केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ ।

Advertisement
Advertisement

“यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।”

Advertisement

बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन्। दुई बिगाह जग्गामा उनले उखु खेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए । “आकाशे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान धनीदत्त भट्टले भने, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।”

उखु बेचेर घरखर्च जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउछन् । आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन । केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए ।

“यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ”, उनले भने, “पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकोले खेती सुकिरहेको छ ।” कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ । यहाँका किसानका लागि उखु बच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुक्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशीले भने “किसान नियमित बाली जोगान नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।” रासस