अर्थसमाचार

कालीमाटी तरकारी बजारमा चिनियाँ अर्बपति ज्याक माको १३ मिनेट

नेपालअखबार, काठमाडौं । निजी भ्रमणमा दुई दिनदेखि काठमाडौंमा रहेका चिनियाँ अर्बपति व्यापारी एवम् उद्यमी ज्याक मा युनले कालीमाटी तरकारी बजारको अवलोकन गरेका छन् ।

बुधबार बिहान १० बजेर ३७ मिनेटमा कालीमाटी बजार परिसर पुगेका ज्याक मा युनले त्यहाँ १३ मिनेट बिताएका थिए । ५ वटा कार र सुरक्षाका केही मोटरसाइकल सहित  ज्याक मा युनको टोली कालीमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेको थियो ।

बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङकका साथमा ज्याक मा कालीमाटी पुगेका थिए ।

बजार परिसरमा पुगेका ज्याक मा कारबाट बाहिर भने ननिस्किएको स्रोतले बतायो । ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको पनि प्रत्यक्षदर्शीले बताए ।

‘कारमा आएको र कारबाटै बजार अवलोकन गरेर फर्केको देखिन्छ,’ स्रोतले भन्यो, ‘उनी १० बजेर ३७ मिनेटमा बजार छिरेको र १० बजेर ५० मिटेनमा निस्किएका हुन् ।’

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका हुन् ।

चीनबाट बंगलादेशको ढाका हुँदै उनी नेपाल आएका थिए । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फेब्र्सकाअनुसार ज्याक मा २३.५ बिलियन अमेरिकी डलरका धनी छन् । विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए ।

इ-कमर्स बिजनेसमा आउनु अघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा नामक इ-कमर्स कम्पनी १९९९ मा स्थापना गरेका थिए ।

अलिबाबाको लगानीमा नेपालमा दराज नामक अनलाइन इ-कमर्स प्लेटफर्म सञ्चालनमा रहेको छ ।

the authoradmin