Wednesday, May 13

त्रिपक्षिय लगानीमा बन्यो गोरखा नगरपालिकामा नौ योजना

गोरखा । त्रिपक्षिय लगानीमा गोरखा नगरपालिकामा बिभिन्न नौ योजना सम्पन्न भएका छन् । गोरखा नगरपालिका, कतार रेडकृसेन्ट र युएनडिपीको संयुक्त लगानीमा वडा नम्बर २, ४ र ६ मा बिभिन्न योजना निर्माण भएका हुन् ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई लगायतका क्षेत्रमा लगानी भएका सो आयोजनाहरुको बिहिबार उद्घाटन भएको छ । योजनाहरुको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त र नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement

गोरखा नगरपालिका २ ताप्लेमा निर्माण सम्पन्न भएको कोखे आहाले शहरी स्वास्थ्य चौकी, मदरसा भवन, २ र ४ मा सम्पन्न दुई खानेपानी आयोजना, सिञ्चाई र गोरखा अस्पतालमा निर्माण भएको फोहोर ब्यवस्थापन गृहको संयुक्त रुपमा उद्घाटन भएको हो ।

९ योजनामा गोरखा नगरपालिकाले १ करोड ५९ लाख ७५ हजार १ सय ४०, कतार रेडकृसेन्टले १ करोड ३४ लाख ७१ हजार ७ सय २१ र यूएनडिपीले ५१ लाख ७० हजार लगानी गरेका छन् भने समुदायको ३१ लाख ३८ हजार ९ सय बराबरको श्रमदान छ ।

सन २०१८ देखि त्रिपक्षिय लगानीमा गोरखा नगरपालिकाभित्र सामुदायिक पूर्वाधार एवं जिविकोपार्जन पुर्नस्थापना कार्यक्रम सुरु भएको थियो ।

नेपालमा लगानी गर्न पाउदा खुसी छु : कतारी राजदुत

योजनाहरुको उद्घाटन गर्दै कतारी राजदुत युसूव विन मोहम्मदले नेपालमा लगानी गर्दा आत्मसन्तुष्टी मिलेको बताएका छन् । कतारको विकासका लागि नेपालीहरुको योगदान महत्वपूर्ण रहेको बताउदै उनले नेपालमा कतारले लगानी गर्ने योजना बनाएको समेत सुनाए ।

‘कतारपछि नेपाल मेरो दोस्रो देश हो, यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’ राजदुत युसूफले भने ‘अब नेपालको विकासमा सरकारसंग सहकार्य गर्न कतार तयार छ ।’ सोही क्रममा राजदुत युसूफले वडा नम्बर २ का महिलाहरुसंग समेत छलफल गरेका छन् । छलफलका क्रममा उनले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटोमा लाग्न समेत आग्रह गरे ।

सहकार्यलाइ निरन्तरता दिन चाहान्छाै : मेयर पन्त

कतार रेडकृसेन्टले गरेको सहयोगप्रति धन्यवाद दिदै नगरप्रमुख राजनराज पन्तले आगामी दिनमा समेत लगानीमा सहकार्य गर्न नगरपालिका इच्छुक रहेको बताए । ‘नगरक्षेत्रको विकासका लागि हामी म्युचियल फण्डमा लगानी गर्न तयार छौ’ उनले भने ‘अब अर्को प्लान बनाएर अघि बढौं, कहाँ कस्तो सहकार्य र सहयोग चाहिन्छ नगरपालिका तत्पर छ ।’ कतार लगायत यूएनडिपीसंगको सहकार्यलाई निरन्तरता दिन आफु इच्छुक रहेको समेत नगरप्रमुख पन्तले बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई लगायतमा लगानी

सम्पन्न भएका योजनाहरुमध्ये स्वास्थ्य चौकी भवनमा कतार रेडकृसेन्टले ४४ लाख ८४ हजार, गोरखा नगरपालिकाले ३३ लाख ९८ हजार लगानी गरेका थिए । त्यस्तै चौकीमा कतारले ७ लाख ३८ हजार बराबरको फर्निचर, औजार उपकरण समेत दिएको छ । त्यस्तै मदरसा भवनमा नगरपालिका र कतार मिलेर ३८ लाख लगानी गरेका छन् ।

यसैगरी जुडीखोला आहाले खानेपानी आयोजनामा ८८ लाख ४० हजार, डेरागाउँ खानेपानी आयोजनामा ४४ लाख ८१ हजार, सार्वजानिक शौचालय निर्माणमा ८ लाख ९३ हजार, गोरखा अस्पतालको फोहोर ब्यवस्थापन गृहमा ३० लाख लगानी भएको बताइएको छ । त्यस्तै शिखर गंगटे र खाल्टे खोला सिञ्चाई आयोजना क्रमश १० लाख ८९ हजार र १० लाख ९६ हजार रकम लगानीमा निर्माण भएको हो ।

निर्माण भएका सबै संरचना बिहीबार गोरखा नगरपालिकालाई बुझाइएको छ । सो मध्ये खानेपानी योजनामा भने केहि काम अझै बाँकी रहेको २ नम्बरका वडाध्यक्ष रहमतुल्ला मियाँले बताए ।

नगरप्रमुख पन्तको अध्यक्षतामा भएको कार्यक्रममा युएनडिपीका नेपाल स्थित आवासिय प्रतिनिधि आइसानी लाबे, कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव चन्द्रकला पौडेल, कतार रेडकृसेन्टका नेपाल प्रतिनिधि अब्दुल मुनीम, गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, वडा अध्यक्ष रहमतुल्ला मियाँ लगायतले बोलेका थिए ।

कार्यक्रमकै अवसरमा स्वास्थ्य चौकी र मदरसा भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान समेत गरिएको छ ।

त्यस्तै बिहिबार बेलुका सदरमुकाममा परियोजना अन्तरगत गोरखा नगरपालिका र कतार रेडकृसेन्टले आफुले गरेका कामको छुट्टटाछुट्टै प्रस्तुतीकरण समेत गरेका छन् । कार्यक्रममा आगामी दिनमा संयुक्त रुपमा गर्न सकिने योजनाहरुको बारेमा समेत छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *