नेपालअखबार, काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् ।
एक ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट आएको बताउँदै भनेका छन्, ‘हाम्रो नगद प्रवाह अहिले पनि नकारात्मक छ ।’ उनले थप केही काम गर्नका लागि पहिले नगद प्रवाहलाई सकारात्मक बनाउनुपर्ने बताएका छन् ।
टेस्ला र स्पेसएक्स जस्ता बिख्यात कम्पनीका मालिक मस्कले ट्वीटर खरिद गरेदेखि नै ट्वीटरको स्थिति सम्हालिन सकेको छैन । उनले विज्ञापनदाता शीर्ष अधिकारीहरुलाई कम्पनीबाट हटाउने, कर्मचारी कटौती गर्ने, भेरिफाइड अकाउन्ट भनेर चिनिने निलो टिक मार्क पैसा तिरेपछि मात्रै पाउने लगायतका निर्णयहरु गरेका छन् । सुधारको नाममा उनले गरेका विभिन्न निर्णयहरु आलोचित समेत भएका छन् ।
यही बीचमा ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटा कम्पनीको थ्रेड्स आएको छ । असन्तुष्ट ट्वीटर प्रयोगकर्ताहरु थ्रेड्समा आकषिर्त भएका बेला मस्कले भने त्यसविरुद्ध कानुनी कारबाही थाल्ने चेतावनी दिएका छन् ।