Friday, May 15

सत्ता गठबन्धन संविधान कार्यान्वयनमा इमान्दार बन्नुपर्छ: सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधानको रक्षा र कार्यान्वयनको पाटोलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिनु भएको छ।

साथै संविधानबारे नेकपा (एकीकृत समाजवादी) गम्भीर बन्नु पर्ने धारणा राख्नु भएको छ। शनिबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी पुनर्गठनको दोस्रो वर्षका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले संविधानको रक्षागर्ने बाचा गरेको गठबन्धनले कोशी प्रदेशको सरकारका बारेमा बारम्बार गल्ति गरिरहेको समेत स्मरण गराउनु भएको छ।

Advertisement

उहाँले, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ। तर, संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ। त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लङ्घन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ।’

उहाँले अगाडि भन्नुभयो,‘कोशीमा त दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ। हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ? हाम्रो पार्टी क्लियर हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको शिकार हुनुहुँदैन। हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ। त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ।’