राजनीतिसमाचार

नेपाल अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारीमा छः मन्त्री भुसाल

नेपालअखबार, काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजन प्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ  ।

“वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवर्द्धनको भूमिका” भन्ने नाराका साथ क्युबाको हवानामा भएको जी– ७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहको तर्फबाट बोल्दै मन्त्री भुसालले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो  ।

सम्बोधनका क्रममा मन्त्री भुसालले भन्नुभयो , ‘हामीले विकसित राष्ट्रहरूबाट प्रविधि हस्तान्तरण गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने ठोस प्रतिबद्धताका बावजुद दशकौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको प्रविधि हस्तान्तरणका लागि जोड दिनुपर्छ ।’

मन्त्री भुसालले अति कम विकसित राष्ट्र ( एलडीसी) का लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न ग्लोबल साउथको सहयोगको लागि आह्वान गर्नुभएको छ । उक्त कार्ययोजनाले एलडीसीहरूमाएसटीआईहरूको विकासलाई प्रमुख प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ ।

साथै मन्त्री भुसालले नेपालको विकास नीति र प्राथमिकताका बारेमा प्रकाश पार्दै अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बताउनु भयो  ।

यता मन्त्री भुसालले क्युवाका कृषि मन्त्री यडेलब्रिटोसँग पनि भेट गर्नुभएको छ । समकक्षीसँगको भेट कृषिको यान्त्रिकीकरण र प्रविधिको सहयोगमा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री भुसालले शिखर सम्मेलन आयोजना गरेकोमा आफ्ना समकक्षी ब्रिटोलाई बधाई दिँदै आतिथ्यताका लागि धन्यवाद दिनुभएको थियो ।

१५ र १६ सेप्टेम्बर २०२३ सम्म भएको शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भुसाल १४ सेप्टेम्बरमा हवाना पुग्नुभएको थियो  । १७ सेटेम्बर मन्त्री भुसाल स्वदेश फर्कने कार्यक्रम छ ।

the authoradmin