खेलकुदसमाचारसमाज

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

Nepal Akhabar

नेपालअखबार, पाेखरा। पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ ।

अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शिल्ड, मेडलले पुरस्कृत गरिएको हो । स्पोर्टस् मीटमा हरियो, रातो, पहेंलो र निलो सदन गरी समूहगत रुपमा विद्यार्थीहरुले विभिन्न खेलहरुमा स्पर्धा गरेका थिए ।

साथै, कक्षागत रुपमा बेस्ट स्टुडेन्ट अफ द मन्थ अवार्ड पनि प्रदान गरिएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले पुरस्कार प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएको बताए ।

पौडेलले प्रतिभाले खेलकुदको क्यालेन्डर नै बनाएर खेल गतिविधि गर्दै आएको बताए । ‘खेलकुद बिना अनुशासन पनि हुदैन । स्वस्थ जीवन बनाउने आधार नै खेलकुद हो,’ पौडेलले भने, ‘खेलकुदबाट अघि बढ्ने अवसर पनि छ । त्यसैले खेलकुदलाई विद्यालय तहमै प्राथमिकता दिने गरिएको छ ।’ विद्यार्थी भित्र लुकेको खुबी देखाउने एउटा अवसर खेलकुद रहेको उनले बताए ।

प्रिन्सिपल किरण सापकोटाले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए । कार्यक्रमको अध्यक्षता समेत गरेका सापकोटाले भने– ‘प्रतिभा स्कुल परीक्षा परिणाममा मात्र अब्बल होईन कि खेल गतिविधिमा पनि उत्तिकै अब्बल छ । विद्यार्थीको सर्वाङिगण विकासका लागि विभिन्न खेल गतिविधि गर्दै आएका छौँ ।’

विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहप्राचार्य प्रदीप खनालले स्वागत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नृत्य पनि प्रस्तुत गरे ।

the authoradmin