प्रशासनसमाचार

कृषि मन्त्रालयको तथ्याङ्क : नेपालमा आवश्यकताभन्दा धेरै मासु उत्पादन

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालको आवश्यकताभन्दा बढी मासु उत्पादन भएको बताएको छ । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिलाई मन्त्रालयले वितरण गरेको पशुजन्य उत्पादनको आंकडा अनुसार नेपालका लागि वार्षिक न्यूनतम ३ लाख ७९ हजार मेट्रिकटन मासु आवश्यक पर्ने भएपनि हाल ५ लाख ५ हजार मेट्रिकटन मासु उत्पादन भएको मन्त्रालयले जनाएको हो । यो परिणाम आर्थिक बर्ष २०७९–८० मा उत्पादन भएको मन्त्रालयको भनाई छ ।

अण्डा उत्पादन पनि नेपालीको आवश्यकता भन्दा बढी उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ । वार्षिक नेपालीका लागि न्यूनतम १ अर्ब ३५ करोड गोटा अण्डा आवश्यक भएपनि १ अर्ब ४१ करोड गोटा उत्पादन भएको छ ।

यस्तै नेपालीको वार्षिक दूध न्यूनतम आवश्यकता २५ लाख ९४ हजार मेट्रिक टन रहेकोमा २४ लाख ९८ हजार मेट्रिक टन उत्पादन भइरहेको छ ।

माछातर्फ नेपालीलाई  १ लाख १० हजार मेट्रिक टन आवश्यक भएपनि १ लाख १४ हजार मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

कृषि तथा पशु विकास मन्त्रालयका अनुसार वार्षिक प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्नेमा ८६ लिटर उपलब्धता रहेको, वार्षिक १४ किलो माछा मासु आवश्यक पर्नेमा हाल वार्षिक २१ किलो उपलब्धता भइरहेको र वार्षिक अण्डा ४८ गोटा आवश्यक पर्नेमा ४८ गोटा नै उपलब्धता हुने अवस्था रहेको दाबी गरिएको छ ।

 

the authoradmin