Monday, August 3

सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी

नेपालअखबार,सर्लाही। सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ।

Advertisement

बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई लिएर विवाद भएर झडप हुँदा एक जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो।

Advertisement
Advertisement

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जारी गरेको आदेशमा भनिएको छ।

Advertisement

बरहथवा नगरक्षेत्र (उत्तर सोती–चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो।

यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाही समेत गर्न सक्ने आदेशमा उल्लेख छ।