कृषिसमाचारसमाज

बँदेलले बालीनाली सखाप पारेपछि किसान हैरान

Nepal Akhabar

नेपालअखबार, महोत्तरी । बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै वासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक वासस्थान बनाउन थालेका हुन् ।

“बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँलले भने । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले वासस्थान बनाएका छन् ।

जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय  रहिमन मण्डलले भने । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उनको भनाइ छ ।

“दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले वासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्”, मण्डलले भने । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् । सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादवले बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताए । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ । रासस

the authoradmin