राजनीतिविदेशसमाचार

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

Nepal Akhabar

नेपालअखबार, एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् ।

चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु प्रधानमन्त्री छन् । अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले सरकारले नियुक्त गर्न खाजेका चार सदस्यको विरोध गरेको छ ।

एमडीपीले संसदमा मतदान हुनु अगाडि नै मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो । त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको बीबीसीले जनाएको छ । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।

गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ ।

the authoradmin