अपराधप्रशासनसमाचार

पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ

Nepal Akhabar

नेपालअखबार, पोखरा । पाेखरामा संघसंस्थाका छाप र जरायोको सिङसहित पोखराका ३ युवा पक्राउ परेका छन्  ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ पुरुनचौर घर भइ हाल नयाँबजार बस्ने वर्ष २८ का सतिश बास्तोला, चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र वर्ष २९ का विवेक श्रेष्ठ छन् ।

वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पोखराको नयाँबजारस्थित ब्लुुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।

साथै छाप बनाउन प्रयोग गरिएको मेसिन, मनिटरसहितको कम्प्यूटरसमेत उनीहरुको साथबाट बरामद गरिएको डीएसपी विकले जानकारी दिए ।

पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालतबाट लिखतसम्बन्धी कसूरमा १० दिन म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी विकले बताए ।

साथै जंगली जनावरको सिङसमेत बरामद गरिएकाले उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइने भएको उनले बताए ।

the authoradmin