विदेशसमाचारसमाज

चालकविहीन रेल ८४ किमी गुडेपछि…

नेपालअखबार, नयाँ दिल्ली । चालक सवार नरहेको एउटा रेल ८४ किमी गुडेको छ । यो घटना भारतको हो ।

गत साता आइतबार बिहान एउटा मालवाहक रेल जम्मुबाट पन्जाब जाँदै थियो । चिया खानका लागि भनेर काथुवा स्टेशनमा चालक रेलबाट ओर्लिए । तर चालक दलले रेलमा ब्रेक लगाउन बिर्से । स्टेशन भिरालो ठाउँमा थियो । त्यसपछि ५३ ओटा डब्बा भएको सो रेल सर्रर गुड्दै गइरह्यो ।

रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे । सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो । कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास पनि गरिएको थियो । तर प्रयास असफल भयो ।

रेलले ढुंगा बोकेको थियो । बिहान ७ बजेर २५ मिनेटमा गुड्न थालेको रेल ९ बजेमात्रै रोक्न सकियो । करिब ८४ किलोमिटर गुडिसकेपछि पन्जाबको उच्ची बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भएको बताइएको छ । सामाजिक सञ्जालहरुमा चालकविहीन रेल गुडिरहेको भिडियोहरू भाइरल भएका छन् ।

उक्त घटनामा सो रेलका दुई जना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ । निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी पनि छन् । भविष्यमा यस्ता खालको घटनाहरू घट्न नदिने स्थानीय स्तरमा र उच्चस्तर दुवै तिर छानबिन सुरु गरिएको छ ।

the authoradmin