Monday, August 3

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकबाट ४ प्रतिवेदन परिमार्जनसहित अनुमोदन

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आइतबार सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ।

Advertisement

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले ती चार वटा प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

Advertisement
Advertisement

काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालसहित २७ जना नेताले सुझावसहित धारणा राखेका थिए।

Advertisement

अध्यक्ष नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भूसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा. वेदुराम भूसालले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए।

पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्युरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावका आधारमा त्यसलाई पूर्णता दिइने बताइएको छ।

स्थायी कमिटीका निर्णयलाई सोमबार दिउँसो बस्ने पोलिटब्युरो बैठकमा थप छलफल गरिनेछ।

उक्त बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने कार्यसूची अनुमोदन गर्नेछ। रासस