Wednesday, July 15

धार्चे पहिरो: बेपत्ताको खोजी जारी

नेपालअखबार, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरू गरिएको छ। भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि सोमबार बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए।

Advertisement
Advertisement

‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ,’ उनले भने, ‘हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं।’

Advertisement

बेपत्ताको खोजीका लागि ‘जेसिबी मेसिन’को प्रयोग गरिएको उनले बताए। आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरूङ,  ६० वर्षीय सुलाल कान्छा गुरूङ, ३३ वर्षीय रमेश गुरूङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

डाँडाबाट खसेको पहिरो खोलासम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले आजदेखि खोला किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। रासस