Wednesday, May 13

अब पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने

नेपालअखबार,पोखरा । कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाउने बाटो खुलेको छ।

संघीय सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो।

Advertisement

अर्थले यससम्बन्धी पत्र हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको छ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरू गरिने बताएका थिए।

मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरू हुन सकेको थिएन।

मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। दुवै प्रतिष्ठानले पाँच वर्ष अघि पूर्वाधार विकास गरेका थिए। तर मन्त्रालयमा बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ। सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको हो।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ।

यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ।