प्रशासनसमाचारस्वास्थ्य

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल

Nepal Akhabar

नेपाल अखबार, गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल गर्ने निर्णय भएको भिमसेन गाउँपालिकाले गोरखाले जनाएको छ।

हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको हो।
गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, ब्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको छ ।
यस्तै पालिकाभित्र रहेका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल बिहान ६ बजेदेखि सवबहान १० बजेसम्म मात्रै सञ्चालन गर्ने, समाजमा जुवातास खेल्ने, हुलहुज्जत तथा झगडा गर्ने तथा समूह बनाई हिँडडुल गर्ने जस्ता कार्यलाई पूर्ण रुपमा निषेध गर्ने साथै एक साताका लागि पालिकाभित्रका स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सरकारी कार्यालयबाट हुने सेवा प्रवाह हाललाई बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले जारी गरेको सूचनामा उल्लेख छ ।
हालसम्म भिमसेन थापा गाउँपालिकाका २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ। जसमध्ये २६ जनामा कोरोना पुष्टी भएको छ। अन्य सबैको रिपोर्ट नेगेटिभ आएको र ७७ जना क्वारेन्टिनमा बस्दै आएको गाउँपालिकाले जनाएको छ। यो गोरखा जिल्लाको सबैभन्दा बढि कोरोना संक्रमित भएको गाउँपालिका हो ।
यी निर्णयको अवज्ञा गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यता गाउँपालिकाले बन्दाबन्दीको घोषणा गरेपनि सवारी साधन यथावत् चलेको स्थानीयहरु बताउछन् । उनीहरुले गाउँपालिका सिल गरेपनि आवतजावत र पसलहरु प्रयाप्त मात्रामा खुलिरहेको बताए।
the authoradmin

Leave a Reply