
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप आज हामी दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना दिनु भएकाे छ । पूर्व प्रधानमन्त्री नेपालले सबैभन्दा पहिले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि रहेकाे बताउनु भएकाे छ । संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ तर अहिले पनि अनेक खाले शक्तिहरु दृश्य वा अदृश्य रुपमा संविधान विरुद्ध लागिरहेको हामी सबैले अनुभुति गरिरहेका बताउनु भयाे । उहाँल् भन्नु भयाे संविधानका रक्षा र पालना गर्ने राजनीतिक दलहरुका बीचमा भएको सहकार्य र आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउदै संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई आजको दिनमा स्मरण गर्दछु ।
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्दै समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका मौलिक हकहरुको कार्यान्वयन एवम् संविधानकै आधारमा जनतामा जागृत समृद्धिको जनचाहना पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने छौ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
संविधान कार्यान्वय अघि बढेता पनि व्यापक रोजगारीको सिर्जना गर्दै उत्पादनमा वृद्धि गर्ने र युवाहरुको वैदेशिक पलायनलाई रोक्नुपर्ने चुनौती हाम्रो माझमा रहेको बताउनु भएकाे छ । यसका अतिरिक्त विद्यमान सामाजिक समस्याहरुमा स्पष्ट दृष्टिकोण सहित समाजका विभिन्न अङ्गहरु बीच सहकार्य हुन जरुरी छ । उल्लेखित कार्यका लागि भ्रष्ट्राचार रहित सुशासन कायम गर्नु पहिलो शर्त रहेकाे बताउनु भयाे । हाम्रो पार्टी अग्रगामी एवम् संविधानका पक्षधर शक्तिहरुका बीच हातेमालो गर्दै उल्लेखित कार्यभार पूरा गर्न दृढताका साथ अघि बढ्न चाहन्छ र जनआकांक्षा अनुरूप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने अभियानमा सबैबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास लिनु भएकाे छ ।

