Tuesday, June 2

विपद् उत्थानशील नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

Advertisement

गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशील बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए । उनले जलवायु परिवर्तनका अनुकूलन एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए ।

गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशील बनाउन थप प्राविधिक एवम् वित्तीय स्रोतको आवश्यक रहेको बताए ।

उनले भने, ‘तथ्यांकमा भन्नुपर्दा सन् २०१५ देखि २०२२ को अवधिमा मात्रै विपद्का कारण नेपालमा १२ हजारभन्दा बढीको मृत्यु भएको छ । जसमध्ये आधा सङ्ख्या महिलाको छ । विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा  भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा बहुआयामिक हानी पुर्‍याएको छ । जसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको छ ।’

गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालबालिका, महिला, नदी किनाराका बस्ती र अप्ठ्यारा भूगोलमा बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदायहरूलाई धेरै हानी पुर्‍याएको बताए ।