Monday, July 6

अलैँची बेचेर वार्षिक ३४ लाख कमाउँछन् इलामका गिरिराज खनाल

नेपालअखबार, मंगलबारे। नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ। कसैको मुख नताकी गर्नसके वार्षिक लाखौँ कमाउनेहरुको सङ्ख्या पनि कम छैन।

Advertisement

पछिल्लो समय कृषि पेसा छोड्नेको सङ्ख्या बढ्दै गएको छ तर कृषि पेसाबाटै मनग्ये कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् ।

Advertisement
Advertisement

कृषि पेसाबाट नै गर्नसके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहण बनेका छ इलाम सन्दकपुर गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष गिरिराज खनाल। उनले यसवर्ष ३४ लाख माथिको अलैँची उत्पादन गरेका छन् ।

Advertisement

सन्दकपुर गाउँपालिका-२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर लगाएको खेतीबाट ३० मन उत्पादन गरेको बताए । अलैँचीको मूल्य हाल १२ वर्षयताकै उच्च अर्थात प्रतिमन एक लाख १५ हजार रहेको छ। ३० मन अलैँचीको प्रतिमन रु एक लाख १५ हजारको दरले पनि रु ३४ लाख ५० हजार पर्न जान्छ । यो उनको एकै वर्षको आम्दानी हो ।

गाउँगाउँमा पुगेका ब्यापारीले महँङ्गो मूल्य लगाउने गरेका छन् । बजारमा व्यापारीले एक लाख १० हजारमाथि खरिद गर्ने गरेका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका खनालले लामो समयदेखि अलैँची खेती गर्दै आएका छन्।

बीचमा किसानले लगाएको अलैँची मासिँदा पनि आफूले सो खेती नछोडेको उनले बताए । केही वर्षअघि दानाबाट समेत अलैँची उत्पादन गरेर जिल्ला तथा जिल्ला बाहिरका किसान समक्ष बिरुवा पुर्‍याएको उनको भनाइ छ ।

धेरै मेहनतसमेत नलाग्ने अलैँची खेतीबाट मनग्गे आम्दानी लिन सकिन्छ । सुरुमा बिरुवा रोप्दा बारी फँडानी गर्न र बिरुवा लगाउन केही खर्च हुने र अलैँची उत्पादन भएपछि टिप्न र छोडाउन खर्च हुने गरेको किसान खनालको भनाइ छ। समय-समयमा गोडमेल, मलजल र पानी लगाउनुपर्ने हुन्छ।

हाल उनले ३३ रोपनी र २४ रोपनीका दुईवटा प्लटमा सो खेती गरेका छन् । हिउँद्को समयमा तुसारो पर्ने भएकाले यहाँ हिउँदका दिनमा तुसारोबाट जोगाउन ग्रिन नेट लगाउने गरिन्छ । उनले यसवर्ष करिब ३० मन अलैँची उत्पादन गरेका छन् ।

आगामी वर्षबाट अझैँ उत्पादन बढ्ने उनले बताए । अलेँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । गएको वर्ष लगाएको नयाँ बिरुवाबाट समेत उत्पादन बढ्ने उनले बताए ।

राजनीति गर्ने मान्छेले केही न केही काम गर्नुपर्ने उनी बताउँछन् । राजनीति गर्न खर्च आवश्यक पर्ने भएकाले पनि केही काम गर्नुपर्छ भन्ने सोचका साथ आफूले कृषि पेसा रोजेको उनी बताउँछन् ।

उनले जस्तै जिल्लाका अन्य किसानले समेतयस वर्ष अलैँचीबाट राम्रो रकम कमाइ गरेका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार बर्सेनि सवा चार अर्ब रुपैयाँ बराबरको अलैँची निकासी हुने गर्दछ ।

चालु आव २०८१/८२ को पहिलो तीन महिनामा सात सय ८३.७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशत कमी हो । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५.९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो।

अलैँची औषधीय गुण भएको नगदेबाली हो । यसबाट विशेष गरेर औषधिजन्य वस्तु निर्माण हुने गर्दछ । गर्मीमासमेत अलैँचीलाई शीतलता प्रदानका लागि प्रयोग गरिन्छ । मसलाका रुपमा समेत अलैँचीको प्रयोग हुन्छ । गाउँघरमा मासु पकाउँदा अलैँचीलाई जिरासँग मिसाएर पकाउने गरिन्छ । सर्बत पानीमासमेत यसलाई प्रयोग गरिने गरिन्छ ।

नेपालबाट विदेश निर्यात हुने अलैँचीबाट पर्फिम वा सुगन्धित तेल निर्माण हुने गर्दछ । विकसित मुलुकमा यसबाट निर्माण भएको पर्फिम निकै मूल्यमा बिक्री हुने गर्दछ । नेपालमा उत्पादित अलैँचीको उचित प्रशोधन र प्रमाणीकरण नहुँदा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न समस्या भइरहेको छ ।

झापामा यसको प्रशोधनका लागि एउटा मात्र प्रशोधन केन्द्र हुँदा ब्यवसायी समस्यामा परेको बताउँछन् ।