Monday, May 4

स्रोत साधनमा महिलाको पहुँच बढाउन जरूरी छ : मन्त्री सुडी

नेपालअखबार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै महिलाको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन नसक्ने बताए। अधिकारप्राप्तिका आन्दोलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, प्रतिबद्धता, प्रगतिशील संविधान, महिला सशक्तीकरणका सघन कार्यक्रमको प्रतिफलस्वरूप नेपालले लैङ्गिक समानता कायम गर्न लैङ्गिक हिंसा न्यूनीकरण गर्न र महिलाको सहभागिता वृद्धि गर्नेतर्फ उल्लेखनीय प्रगति हासिल भएको उनको भनाइ छ ।

उनले भनेका छन्, “संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।” महिलाको हक मौलिक हकको रूपमा प्रदान गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण सहभागिता बढाउँदै लगेको उनले उल्लेख गरे । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र स्थानीय तहमा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन् । निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारी रहेका छन्।

Advertisement

मन्त्री सुडीले महिला र पुरूषको सारभूत समानताका लागि नीतिगत, कानुनी र संस्थागत तथा कार्यक्रमगत व्यवस्था हुँदाहुँदै पनि समाजमा अवशेषका रूपमा रहेका पितृसत्तात्मक सोच, व्यवहार कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागी गराउन नसक्नु  चुनौतीपूर्ण  रहेको बताए । “आज पनि लैङ्गिक हिंसा तथा गरिबीको प्रभाव महिलामा बढी परेको देखिन्छ । महिलाको सहज जीवनको  सुरक्षा र रोजगारीका लागि महिलाको श्रमलाई आर्थिक उपार्जनमूलक क्रियाकलापमा रूपान्तरण गर्न सके  उनीहरूमाथि सम्मान हुने देखिन्छ”, उनले भने ।