Monday, May 4

सुदूरपश्चिमको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक : प्रधानमन्त्री ओली

नेपालअखबार, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई अपार सम्भावनायुक्त क्षेत्रका रूपमा चित्रित गर्दै यसको विकास र समृद्धिका लागि नयाँ पहलकदमी आवश्यक रहेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा अथाह सम्भावना रहे पनि पछाडि परेको भन्दै अब त्यस परिचयलाई बदल्ने बेला आएको उल्लेख गरे ।

‘यो प्रदेश केवल सुन्दर मात्र होइन, सम्भावनाले भरिएको छ । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ । नयाँ पुस्ताले सम्भावनाको खोजी गर्नुपर्छ,’ उनले भने ।प्रधानमन्त्री ओलीका अनुसार दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले सुदूरपश्चिमको भौगोलिक कठिनाइ समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै दार्चुलाको उत्तरी क्षेत्रसम्म सहज पहुँच बनाउने उद्देश्यले छाङगुरुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको जानकारी दिए ।

Advertisement

‘हामीले हाल पाँच करोड रुपैयाँ विनियोजन गरिसकेका छौँ । हालसम्म नेपालीहरू पारीको बाटो प्रयोग गर्दा कठिनाइ भोगिरहेका छन् । अब गोरेटो बाटो निर्माणपछि पक्की सडक बनाउन थप बजेट विनियोजन गरी तक्लाकोटसम्मको सडक निर्माण गर्नेछौँ, उनले भने ।

प्रधानमन्त्री ओलीले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यही वर्षभित्र नै पठनपाठन सुरु गराउने योजना रहेको बताए । त्यस्तै, बहुप्रतीक्षित पञ्चेश्वर परियोजनालाई अघि बढाउन भारतसँग छलफल भइरहेको उनले जानकारी दिए ।उनले आफू प्रधानमन्त्री भएको समयमा मुलुकमा विकासले गति लिएको दाबी गर्दै हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र तथा सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको उल्लेख गरे ।