Tuesday, April 28

थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार

नेपालअखबार,काठमाडौँ । गैरकानुनी ढंगले थाइल्याण्ड, म्यानमारलगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सरकारले फर्काउन थालेको छ । नेपालीहरुलाई गैरकानुनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने र बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको छ ।

थाइल्याण्डस्थित नेपाली दूतावासले २०० जना नेपालीलाई उद्धार गरेको छ । त्यसमध्ये १५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो । १५० जनालाई नेपाल फर्काइसकिएको छ । थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ ।

Advertisement

पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन्छ । राज्यको पहुँच नपुग्ने द्वन्द्वग्रस्त क्षेत्र र जंगलमा पुर्‍याएर उनीहरुलाई गैरकानुनी काममा लगाउने गरेको पाइएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

नेपालीहरुलाई आकर्षण तलब सुविधाको प्रलोभन दिएर विभिन्न भिसाबाट थाइल्याण्ड लैजाने र त्यहाँबाट म्यानमारका विभिन्न ठाउँमा पुर्‍याउने गरिएको छ । त्यसरी थाइल्याण्ड पुगेका नेपालीहरुको पासपोर्ट तथा अन्य कागजात जफत गरी बन्धक बनाएर गैरकानुनी काममा लगाउने गरेको पाइएको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलब सुविधाको प्रलोभन देखाउँदै अधिकांश नेपालीलाई म्यानमार पुर्‍याइने गरिएको पाइएको छ । त्यहाँ लगेर अनलाइनबाट हुने जुवातास तथा ठगीको काममा लगाउने गरिएको छ,’ परराष्ट्रका एक अधिकारीले भने ।

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालबाट विभिन्न बाटो प्रयोग गरेर आएका कतिपय नेपाली कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डका विभिन्न ठाउँमा गैरकानुनी काममा फसेको पाइएको बताए । खासगरी अनलाइन स्क्याममा उनीहरुलाई लगाएको पाइएको छ । उनका अनुसार राज्यको पहुँच नपुग्ने जंगल क्षेत्रमा यस्ता गैरकानुनी काम हुन्छन् । त्यहाँ नेपाली मात्र होइन, अन्य देशका मानिसहरु पनि फसेको ओलीले बताए ।

त्यहीँबाट लुकेर भाग्न सफल भएकाहरु दूतावासको सम्पर्कमा आउँछन् र उनीहरुलाई उद्धार गरेर नेपाल पठाउने गरिएको उनले बताए । केही समय पहिले १५ जना उद्धार गरेर पठाएको र अर्को साता केही नेपालीलाई नेपाल पठाउन लागिएको उनले जानकारी दिए ।

परराष्ट्रका एक अधिकारीले भने, ‘म्यानमारको त्यो द्वन्द्वरत ठाउँबाट तत्कालै उद्धार गर्ने अवस्था पनि हुँदैन । त्यहाँका प्रहरी, प्रशासनले पनि तत्कालै रेस्क्यु गर्न जाँदैन । त्यसले गर्दा अहिले पनि थुप्रै नेपालीले त्यहाँ दु:ख पाइरहेका छन् ।‘

म्यानमारबाट फर्केका एक नेपालीका अनुसार अहिले पनि थुप्रै नेपाली बन्धकको अवस्थामा छन् । म्यानमारको द्वन्द्वरत क्षेत्रमा अनलाइन स्क्याममा लागेका नेपालीहरु फसेको तीन नेपालीले बताए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले वैदेशिक रोजगारीमा जाँदा नेपालको कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र विदेश जान पटक-पटक आग्रह गरिएको बताए । थाइल्याण्ड र म्यानमारको बारेमा मन्त्रालयले बुझ्ने काम गरिरहेको उनले बताए ।

थाइल्याण्ड र म्यानमार सीमामा गैरकानुनी ढंगले जुवातास खेलाउने र बैंकिङ स्क्यामका काममा बिचौलियाहरुले नेपालीहरुलाई लैजाने गरेका छन् । अनलाइन चलाउन जान्ने, कम्प्युटरमा दक्षहरुलाई नै छनोट गरेर त्यहाँ पुर्‍याउने गरेको पाइन्छ । थाइल्याण्डका लागि रोजगारी भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा विज्ञापन नै गरेको समेत देखिन्छ । कतिपयलाई व्यक्तिगत रुपमा मेसेज समेत गरिएको हुन्छ । बिचौलियाहरुले विभिन्न प्रलोभन दिएर पर्यटक, भिजिट, स्टुडेन्ट लगायत भिसामा नेपालीहरुलाई थाइल्याण्ड, म्यानमार लगायत देशमा पुर्‍याउने गरेको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् । कतिपय नेपाली भारत, दुबई लगायत देशको बाटो हुँदै ती देशमा पुगेका छन् ।