Tuesday, July 7

अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईएस वरिष्ठ कमाण्डर मारिए

अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले यसलाई ‘उग्रवादी समूहविरुद्ध महत्वपूर्ण उपलब्धि’ बताएका छन्।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिनुकी विश्वव्यापी आईएसआईएस संरचनाको दोस्रो कमाण्डर रहेको दाबी गर्दै आफ्नो निर्देशनमा नाइजेरियासँग मिलेर सूक्ष्म योजना बनाइएको सैन्य अपरेसन सञ्चालन गरिएको बताएका छन्।

Advertisement
Advertisement

ट्रम्पले मिनुकीको मृत्युले आईएसआईएसको विश्वव्यापी सञ्चालन क्षमतामा ठूलो असर परेको दाबी गरेका छन्।

Advertisement

नाइजेरियाका राष्ट्रपति बोला अहमद तिनुबाले शनिबार एक्समार्फत उक्त कारबाहीको पुष्टि गर्दै यसले इस्लामिक स्टेटको संरचनामा ठूलो धक्का पुगेको बताएका छन्।

प्रारम्भिक मूल्यांकन अनुसार लेक चाड बेसिनस्थित मिनुकीको अड्डामा गरिएको आक्रमणमा उनीसँगै उनका केही सहयोगीहरू पनि मारिएको जनाइएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार अपरेशनमा हेलिकप्टर र युद्धक विमान प्रयोग गरिएको थियो। अमेरिकी सैनिकहरू सम्मिलित एक स्थलगत टोली पनि नाइजेरियाली सुरक्षाकर्मीसँग समन्वयमा खटिएको थियो। मिनुकीलाई जीवित पक्राउ गर्ने सम्भावना राखिए पनि अन्ततः हवाई आक्रमण गरिएको र पक्राउ सम्भव नभएको बताइएको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले राष्ट्रपति ट्रम्पले नाइजेरियाका ईसाई समुदायमाथिको हिंसाबारे चिन्ता व्यक्त गर्दै कारबाहीको तयारी गर्न निर्देशन दिएको बताएका छन्। उनका अनुसार मिनुकी नाइजेरियामा ईसाईहरूलाई लक्षित हिंसामा संलग्न थिए।

सन् २०२३ मा अमेरिकी विदेश मन्त्रालयले मिनुकीलाई ‘विश्वव्यापी आतंककारी’ को सूचीमा राखेको थियो। नाइजेरियाली सेनाका अनुसार उनी आईएसआईएसको सञ्चार, हतियार, विस्फोटक तथा ड्रोन निर्माणसम्बन्धी रणनीतिक समन्वय गर्ने प्रमुख व्यक्ति थिए।

उनले पश्चिम अफ्रिका र साहेल क्षेत्रमा आईएस–सम्बद्ध गतिविधि सञ्चालन गर्नुका साथै लिबियातर्फ लडाकु पठाउने कामसमेत गरेको आरोप छ।

अमेरिकी अफ्रिका कमाण्डले मिनुकीसँगै अन्य केही आईएसआईएस नेताहरू पनि मारिएको प्रारम्भिक मूल्यांकन देखिएको जनाएको छ। कारबाहीका क्रममा कुनै अमेरिकी सैनिक हताहत नभएको बताइएको छ।

विश्लेषकहरूले भने यो कारबाही पश्चिम अफ्रिकामा हालका वर्षहरूकै महत्वपूर्ण अमेरिकी प्रतिआतङ्कवाद अपरेशन भए पनि आईएसआईएसको संरचनामा दीर्घकालीन असर कति पर्छ भन्ने अझै स्पष्ट नभएको बताएका छन्।