
नेपालअखबार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू सम्बद्ध सबै प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा कार्यरत कर्मचारीलाई सम्पति विवरण बुझाउन आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखाले सूचना निकालेर आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क. को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्छ ।
सार्वजनिक पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।
यही व्यवस्था स्मरण गराउँदै मन्त्रालयले प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी र प्राधिकरणमा सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूलाई सम्पति विवरण बुझाउन भनेको हो ।साथै, आर्थिक वर्ष २०८२/०८३ मा सेवा निवृत्त भएका कर्मचारीको समेत आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र बुझ्ने/बुझाउने व्यवस्था गरी सम्बन्धित निकायबाटै एकमुष्टरुपमा मन्त्रालयमा दर्ता गर्न भनिएको छ ।
मन्त्रालयका अनुसार यस सम्बन्धमा चार वटा विषय समावेश गर्नुपर्ने हुन्छ ।
१. नयाँ नियुक्ति भई आउने कर्मचारीहरूलाई सम्बन्धित निकायले संकेत नम्बर प्रदान गर्नुपर्ने,
२. कार्यरत कर्मचारीहरूको हकमा सम्बन्धित निकायले यसअघि कायम गरेको संकेत नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने,
३. सम्बन्धित निकायले सम्पत्ति विवरणसम्बन्धी तथ्यांक अनिवार्य रूपमा राष्ट्रिय सतर्कता केन्द्रले सञ्चालन गरेको सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने,
४. सम्पत्ति विवरण खामको साइज ४ इन्टु ९ हुनुपर्ने,
साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सम्पत्ति विवरण खामको बाहिर पनि विवरण उल्लेख गर्नुपर्ने हुन्छ । जसअनुसार आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण, कर्मचारीको संकेत नम्बर, कार्यरत निकाय, नाम थर, मोबाइल नम्बर खामको बाहिरै लेख्नुपर्छ ।




