
नेपालअखबार, काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि गर्न नहुने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभालाई शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए ।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालको भनाइ छ । सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्त्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए । त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।




