Saturday, November 21

आसन ग्रहण र सहिदप्रति श्रद्धाञ्जलीमा धेरै समय खर्चिएको भन्दै असन्तुष्टि व्यक्त : नेपाल

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक कार्यक्रमहरूमा आसन ग्रहण र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने समय लामो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement

शनिबार नेकपाको जागरण अभियान अन्तर्गत भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक नेपालले सुरूमा आसन ग्रहणको समय लामो भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए।

Advertisement
Advertisement

प्रमुख अतिथिसहित नामै लिनुपर्ने व्यक्तिबाहेक अरूलाई सामूहिक रूपमा आसन ग्रहण गराउने व्यवस्था गर्न उनको सुझाव थियो।

Advertisement

‘आसन ग्रहण गर्ने कुराको घडी हेरेँ। थुप्रै समय लाग्यो। यसरी आसन ग्रहण गराउन थाल्ने हो भने जसको नाम भनिएको छैन, उसको गाला पुक्क फुल्न बेर छैन। अनुहार रातो हुन बेर छैन। मनमा च्वास्स पोल्न बेर छैन,’ उनले भने।

आसन ग्रहणका लागि कसलाई कहाँ राख्ने भन्ने कुरा कार्यक्रमअघि नै तय गर्नुपर्ने उनको सुझाव छ। केन्द्रीय सदस्य लगायतका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न सकिने उनले बताए।

टीकापुरमा आयोजित एउटा कार्यक्रमको उदाहरण दिँदै उनले त्यहाँ ५० देखि ६० हजार मानिस उपस्थित हुँदा आसन ग्रहण गराउन मात्रै तीन घण्टा लागेको नेपालले स्मरण गरे।

‘त्यतिबेला आयोजकलाई आसन ग्रहण अझै बाँकी होला, यो चउरभरिका सबैको नाम लिनुस्। दिनभरि आसन ग्रहण गराउनुस्, बोल्न मलाई भोलि बोलाउनुस् भनेँ,’ उनले भक्तपुरमा शनिबार भने।

नेपालले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने समय पनि छोट्याउनुपर्ने बताए।

अहिले एक मिनेट मौनधारण गर्ने चलन रहेको उल्लेख गर्दै उनले त्यसलाई ३० सेकेन्ड वा १५ सेकेन्डमा सीमित गर्न सकिने बताए।

‘एक मिनेट गर्ने हो कि आधा मिनेट गर्ने हो कि १५ सेकेन्ड गर्ने हो कि। हामीले एक मिनेट भनेका छौं। घडी हेरेर ६० सेकेन्ड पुर्‍याउँछ। यो साह्रै लामो भयो भन्न लागिराथ्यो,’ उनले भने।

लाओस र अन्य देशमा भएका कार्यक्रमको अनुभव सुनाउँदै उनले श्रद्धाञ्जली व्यक्त गर्ने तरिका र समय फरकफरक हुने गरेको बताए।

‘लाओस् पुगेको थिएँ। त्यहाँको पार्टीले त्यसलाई ३० सेकेन्ड गरिदिएछ। अर्को ठाउँमा गएको त्यहाँ १५ सेकेन्ड रहेछ। त्यो सहिदप्रति सम्मान हो,’ उनले भने।

रूसमा त अझै त्यो पनि नहुने उनले बताए।

‘रूसको पार्टीले गरेको कार्यक्रम गएँ। उनीहरूले सहिदप्रति श्रद्धाञ्जलीका लागि उठ्न भनेँ। उठेर यसो टाउको निहुराए र थचक्क बसे। सम्मानको त्यो पनि तरिका हुन्छ,’ उनले भने।

उनले यी सबैकुरामा विधि सबै भन्दा महत्त्वपूर्ण हुने बताए।

‘हाम्रो जोड विषयवस्तुमा हुनुपर्छ, त्यो पनि मूल कुराहरूमा,’ उनले भने।

पार्टीको स्कुल विभाग सक्रिय हुन लागेको उल्लेख गर्दै नेपालले आगामी प्रशिक्षण कार्यक्रममा यस्ता विषयमा पनि छलफल गर्नुपर्ने बताए।

कार्यक्रम सञ्चालनको विधि सुधार गर्दै समयलाई मुख्य विषयवस्तुमा केन्द्रित गर्नुपर्ने उनले सुझाए।