Friday, May 22

सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री

नेपाल अखबार, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’
तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए । स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’
संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्लेषण भइरहेको बताए । उनले भने, ‘शरीर सुरक्षित राखेसँगै पेट पनि पाल्नु पर्ने अवस्था छ ।’
संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उनले जानकारी दिए ।
डा. खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत गरे । सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले भने, ‘सीसीएमसीको बैठकमा समीक्षा गरेर त्यही अनुसार मन्त्रिपरिषद्ले निर्णय लिन्छ ।’

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *