गृहमन्त्री अर्यालले गरे प्रहरी वृत्त थानकोट र नागढुंगा प्रभागको निरीक्षण
नेपालअखबार,काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग नागढुंगाको निरीक्षण गरेका छन् । शनिबार मन्त्री अर्यालले जेनजी प्रदर्शनमा आगजनी पछि पुनर्स्थापित दुवै कार्यालयको निरीक्षण गरेका हुन् ।
प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले थानकोट र नागढुंगाको प्रहरी कार्यालय भवन आगजनी गरेका थिए । मर्मत र रंगरोगनपछि प्रहरीले त्यहीँबाट सेवा सुचारु गरेको छ ।
थानकोट वृत्तको नवनिर्मित भवन उद्घाटन भएको ९ औँ दिनमा नै आन्दोलनकारीले आगजनी गरेका हुन् । तत्कालीन एआईजी टेकबहादुर तामाङले भदौ १६ मा नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।
निरीक्षणमा उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारी र काठमाडौँका एसएसपी रमेश थापा पनि सहभागी थिए । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीले प्रदर्शनमा आफ्नो टिमले हातहतियार, गोलीगठ्ठा र सवारीसाधन क्षति हुन नदिएको ब्रिफिङ गरेकी छन् ।
...







