पुरैनीमा आइपुगे कलहाँस
नेपालअखबार,कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन्। उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँस लगायतका जलपन्छीका प्रजाति आइपुग्छन्। विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन्।
चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो। तालमा यसअघि नै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँस लगायत पुगेका छन्।
घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ। यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ। सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुन्दर पन्छीका रूपमा रहेको छ।
सेतो पुच्छर र पछाडिको छेउको सा...










