कुकुर र मानवबिचको मित्रताको कथा बदल्ने एउटा बङ्गारा : १५ हजार वर्ष पुरानो रहस्य खुल्यो
नेपालअखबार,लण्डन । लण्डन सोमर्सेटस्थित एउटा गुफाको गहिराइमा भेटिएको एउटा सानो बङ्गाराले मानव र कुकुरबिचको सम्बन्धको इतिहासलाई पूर्ण रूपमा बदलिदिएको छ। डीएनए विश्लेषणका अनुसार यो बङ्गारा संसारकै सबैभन्दा पुराना घरपालुवा कुकुरहरूमध्ये एकको हो।
यस खोजले बेलायतमा मानिसहरूले आजभन्दा १५ हजार वर्षअघि नै कुकुरसँग निकै नजिकको सम्बन्ध बनाएर बसेको तथ्य पुष्टि गरेको छ। यो समय कृषि युगको सुरुवात हुनु वा बिरालाहरू मानव घरमा प्रवेश गर्नुभन्दा हजारौँ वर्ष अघिको हो।
नेचुरल हिस्ट्री म्युजियमका डा. विलियम मार्शका अनुसार यस खोजले जङ्गली ब्वाँसोबाट कुकुरको विकास भएको समयलाई करिब ५ हजार वर्ष पछाडि धकेलिदिएको छ। हिमयुगको अन्त्यतिर मानव बस्ती वरिपरि घुम्ने खैरो ब्वाँसाहरू बिस्तारै मानिसले फालेका खानेकुरा खाँदै मानिससँग घुलमिल हुन थालेका थिए।
सयौँ पुस्ताको प्रजननपछि यी जनावरहरू सिकार गर्न, पहरेदारी गर्न र...










