एनआरएनएका अध्यक्ष कुमार पन्तलाई अमेरिकाबाट खुलापत्र
कुमारजी, नमस्ते!
म तपाईंलाई चिन्छु। तपाईं मलाई चिन्नुहुन्न। यो कुनै ठूलो वा नौलो कुरा भएन।
तपाईं–हामी चिन्दै गरौंला।
तपाईंले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पद ‘पडकाउनु’ भयो, यो पनि मेरा लागि त्यत्ति ठूलो र नौलो कुरा होइन। किनकी तपाईं त्यसैको अभ्यास गरिरहनु भएको थियो। र, म तपाईंका ती अभ्यासहरूलाई टाढाबाट नियालीरहेको थिएँ। खासमा मैले आज तपाईंलाई सुरुमा नै बधाई भन्नुपर्ने थियो, तपाईं जो मेरो पनि नेता हुनुभएको छ। तर म आज बधाईको ‘मुडमा’ होइन, लज्जित ‘मुडमा’ छु।
म लाजले भरिएको छु। मेरो लाज ‘कुनै स्त्रीको लाखौं डलरको लाज’ जस्तो होइन, मेरो लाज बडो सस्तो छ। सस्तो तपाईंहरूले बनाउनु भएको छ। लाजमा सौन्दर्यको मूल्य हुन्छ, मेरो आजको लाजमा कुनै सौन्दर्यको मूल्य पनि छैन। म शून्य छु। मेरो लाज बितृष्णाले भरिएको छ। मेरो लाजमा कुनै ‘रोमान्टिसिजम’ छैन। लाजमा उदासिनता मिसिएको शायदै हुन्छ। आजको मेरो ल...
