Saturday, September 12

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

नेपालअखबार, लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए ।

Advertisement

उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहँुका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’

Advertisement
Advertisement

कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ’, उनले भने, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।’

Advertisement

कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए ।उनले भने, ‘हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ । ‘

अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उनको भनाइ छ । ‘यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन’, उनले भने, ‘जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण सकिन्थ्यो कि ?’

कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित चार प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना छ । अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको उनले बताए ।

उनले भने, ‘वर्षा र हावाहुरीले खेतमा लडेको र भिजेको गहुँ अधिकांश कालो भएर बिग्रिने सम्भावना रहेको छ ।’ खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको उनको भनाइ छ ।

उनले भने, ‘पानीले भिजिसकेको गहुँ सुक्खा गहुँभन्दा कम क्षमताको हुन्छ र भिजेको गहुँ धेरै दिन भण्डार गर्दा बिग्रिएर जान्छ ।’ बेमौसमी पानीले भिजेको गहुँको वा नष्ट भएको गहुँको निश्चित तथ्याङ्क विभिन्न पालिकासँग समनव्य गरी सङ्कलन गरिरहेको उनले बताए ।

यस वर्ष रूपन्देही जिल्लामा २६ हजार सात सय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ । प्रवक्ता बनियाँले भने, ‘सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ ।’

गत वर्ष २६ हजार छ सय ८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन एक लाख दुई हजार दुई सय ५० मेट्रिक टन भएको उनले बताए । रासस