Saturday, August 8

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

नेपालअखबार,काभ्रे। जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ।

Advertisement

गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

Advertisement
Advertisement

जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताए।

Advertisement

उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा सङ्क्रमण देखिएको तथ्याङ्क प्राप्त भएको छ।

रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन्। उनले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५  गाई तथा ३५ हजार सङ्क्रमित पशुमध्ये करिब दुई हजार भैँसी सङ्क्रमित रहेको तर भैँसी नमरेको जानकारी दिए।

उनका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा सङ्क्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ।

जिल्लामा देखिएको रोगका कारण रु ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा रु छ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो।

जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको जनाएको छ।

‘जिल्लामा रोगको सङ्क्रमण बढेसँगै केन्द्रले लम्पी स्किनविरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ,’ निमित्त प्रमुख कार्कीले भने।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ।

रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने

पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन्।

यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो। सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो।  रासस