Tuesday, July 28

रासायनिक मलको अभाव हुँदैन -मन्त्री भुसाल

नेपालअखबार, काठमाडौं  । कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताउनुभएको हो ।

Advertisement

हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोहरूमा ७८ हजार ४ सय २२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी  दिनुभयो । उहाँले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताउनुभयो ।

Advertisement
Advertisement

‘‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल चार लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये तीन लाख ५१ हजार मेट्रिक टन आयात भई बिक्री, वितरण भइरहेको छ । र हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेसनका २४ डिपोहरूमा मल मौज्दात रहेको छ ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘असार महिनाको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा रहेको छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने ब्यहोरा यस सदनमा राख्न चाहन्छु ।’’

Advertisement

मन्त्री भुसालले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपियाँ रकम सुनिश्चित गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘विगतमा जस्तै बजेटमा सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नरहोस् भनेर आगामी आर्थिक वर्षका लागि ३० अर्ब रुपियाँ सुनिश्चित गरिएको ब्यहोरा पनि अनुरोध गर्न चाहाछु । त्यसैगरी रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । र मल खरिद सम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्री परिषद्मा पेस गर्ने क्रममा रहेको छ ।’’

मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरू अगाडि बढाएको बताउनुभयो । उहाँले हालसम्म छ लाख ११ हजार २०९ पशु सङ्क्रमित भएका र सङ्क्रमितमध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । तीन लाख ५४ हजार ५७३ पशु भने लम्पिस्किन रोगबाट निको भइसकेका बताउनुभयो । उहाँले दुई लाख ३५ हजार २१९ पशु अझै पनि सङ्क्रमित अवस्थामा रहेका जानकारी दिनुभयो ।

‘‘अहिले देशैभरि गाईभैँसीमा लाग्ने एउटा सङ्क्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो । यस वर्ष मनाङ बाहेक सबै जिल्लामा देखा परेको छ । हालसम्म छ लाख ११ हजार २०९ पशु सङ्क्रमित भएका छन् । सङ्क्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भएको छ भने तीन लाख ५४ हजार ५७३ निको भएका छन् । दुई लाख ३५ हजार २१९ अहिले पनि सङ्क्रमित अवस्थामा रहेका छन् । मैले मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै यस रोगको सङ्क्रमण फैलिइसकेको थियो । तर त्यसबेला उपचार र नियन्त्रणका लागि कुनैपनि कदम चालिएको थिएन । आजभन्दा दुई महिना अगाडिदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो । यसको उपचार भनेको सङ्क्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मल्हम लगाउने र दानापानी खुवाउने हो ।,’’ मन्त्री भुसालले भन्नुभयो, ‘‘नियन्त्रणका लागि सङ्क्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने हो । यसको भ्याक्सिन हाम्रो देशमा पाइँदैन ।

अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । हालसम्म सात लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको छ । र २०८०÷३÷१० सम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको छ । लम्पिस्किन रोगको सम्बन्धमा सरकार मौन छैन । यस रोगको उपचार तथा रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका कार्यहरू अघि बढाइएको छ ।’’

मन्त्री भुसालले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताउनुभयो । उहाँले हालसम्म सात लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिनुभयो ।