Saturday, July 25

संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

नेपालअखबार, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउनका लागि जनताको साथ चाहिने बताएका छन् ।

Advertisement

मोरङको कटहरी–७ र धनपाल–५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

“संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ” मन्त्री मोदीले भने, “संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन ।”

Advertisement

संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै मन्त्री मोदीले भने, “संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरू हुन सक्दैन ।”

त्यस्तै समानुपातिक समावेशिता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको आफ्नो समेत उदाहरण दिँदै मन्त्री मोदीले भने, “एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एकजना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरू हुन सक्दैन ।”

मन्त्री मोदीले सरकार संघीयताको प्रभावकारी कार्यान्वयन र सुदृढीकरणको दिशामा अगाडि बढिरहेको बताए ।

त्यसैगरी सामाजिक न्यायसहित सुशासन कायम गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि लैजाने उद्देश्यसहित सरकारले काम गरिरहेको उनको भनाई थियो ।