Friday, July 31

नेकपा एसकाे १०औं महाधिवेशन यहि असार १६-२० मा काठमाडाैँमा आयोजना हुँदै

नेपालअखबार,काठमाडौँ। नेपाल (एकीकृत समाजवादी) ले पार्टीको १०औं महाधिवेशनका सम्बन्धमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

Advertisement

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा विशिष्ट राजनीतिक परिस्थितिमा जन्मेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन यहि असार १६-२० मा काठमाडाैँमा आयोजना हुँदैछ। करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागितामा राष्ट्रिय प्रज्ञा-प्रतिष्ठानमा आयोजना हुने उक्त महाधिवेशनलाई नेपालका सबै कम्युनिष्ट तथा प्रगतिशील लोकतान्त्रिक जनवर्गको महाधिवेशनका रूपमा सम्पन्न गर्ने हाम्रो दृढसङ्कल्प सबैलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौँ। यसै सन्दर्भमा आयोजित यो पत्रकार सम्मेलनमा तपाईँ सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई हार्दिक स्वागत गर्दछौँ।’

Advertisement
Advertisement

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधानको रक्षाका लागि हामीले गरेको विद्रोह मुलुकको राजनीतिक इतिहासमा एउटा विशिष्ट योगदान थियो। उक्त विद्रोहपछिका विगत ३३ महिनामा हामीले एकपछि अर्को चुनौतीको सामना गर्दै र महत्वपूर्ण शिक्षा आर्जन गर्दै आएको छौँ। सबैभन्दा महत्वपूर्ण कुरा के छ भने कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणका लागि हामीले लिएको पहलकदमीलाई महाधिवेशनद्वारा संस्थागत गर्ने ऐतिहासिक कार्यभार सम्पन्न गर्ने बिन्दुमा आइपुगेका छौँ । मुलुकको समृद्धि र समाजवादी रूपान्तरणको रूपरेखामा आधारित राजनीतिक प्रतिवेदन, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम, त्यसलाई बहन गर्न सक्ने क्रान्तिकारी तथा लोकतान्त्रिक पार्टी निर्माणका ठोस प्रस्ताव र विधानसहित महाधिवेशनको आयोजना हुनु नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा ऐतिहासिक महत्वको परिघटना हो। ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ !’ भन्ने मूल नाराका साथ हामीले तय गरेका तात्कालिक र दीर्घकालिन कार्यभारहरुले नेपालका कम्युनिष्ट तथा समाजवाद पक्षधर सबै शक्तिहरूलाई सुदूर भविष्यसम्म वैचारिक तथा साङ्गठानिक मार्गदर्शन गर्ने छन्; कम्युनिष्ट आन्दोलनमा नयाँ चरणको एकताको आधार तयार गर्नेछन् र अहिलेका आर्थिक, सामाजिक तथा राजनीतिक गतिरोध, अन्योल र अस्थिरताको अन्त्य गर्दै राष्ट्रिय राजनीतिमा प्रगतिशील तथा लोकतान्त्रिक स्थायित्वको प्रत्याभूतिका लागि नयाँ ढोका खोल्ने छन्।’

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरूत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन््। राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ। मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनु पर्ने भएको छ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को यो महाधिवेशन त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने सङ्कल्पका साथ आयोजना हुँदैछ। यस महाधिवेशनको सफलताका लागि मुलुक भरीका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको छ। सधैँझैँ, राष्ट्रिय सार्वजनिक महत्वको यस महाधिवेशन अवधिभरी सञ्चार जगतबाट विशेष सहयोगको लागि हार्दिक अनुरोध छ।’