Friday, July 31

२४ वर्षदेखि मुढेघारमा मौरीपालन गरिरहेका किसान् भन्छन्- आधुनिक तरिका जान्न पाए राम्रो हुन्थ्यो

नेपालअखबार, काठमाडौँ। प्रशस्त वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त मानिन्छ।

Advertisement

यहाँका वन क्षेत्र आसपासमा रहेका बस्तीका स्थानीयले परम्परागत (मुढेघार) मौरीपालन गरिरहेका छन्। आधुनिक मौरीपालनका बारेमा जानकारी नहुँदा किसानहरू परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्।

Advertisement
Advertisement

टेम्केमैयुङ–५ मझौलेका दिपक विष्ट विगत २४ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गरिरहेका छन्। मुढेघारमा उनका २० घारमौरी छन्।

Advertisement

आधुनिक प्रविधिका विषयमा जानकारी नहुँदा बाउ बाजेबाट सिकेको सीपलाई अवलम्बन गरेर मौरीपालन गरिरहेको उनले बताए।

आवश्यक तालिम तथा आधुनिक सीपको अभाव हुँदामा परम्परागत मौरीपालनमा समस्या हुने गरेको उनको भनाइ छ।

‘विगत २४ वर्षदेखि मौरीपालन गरिरहेको छु। स्वदेशमा स्वरोजगार बन्ने  लक्ष्यले यो व्यवसायमा लागेको हुँ,’ विष्टले भने, ‘आधुनिक प्रविधिबाट पालन गर्नसके अझ राम्रो हुन्थ्यो। राज्यको कुनै पनि निकायबाट यस्तो सीप लिने अवसर पाएको छैन।’

मौसमअनुसार एक वर्षमा दुईदेखि तीन पटकसम्म मह निकाल्न सकिने उनले जानकारी दिए।

सिजनमा एकपटकमा ८० देखि ९० केजीसम्म मह निकाल्न सकिने व्यवसायी विष्टले बताए। मह स्थानीय बजारमा प्रतिकेजी एक हजार पाँच रुपैयाँमा बिक्री हुने विष्टले बताए। उत्पादित महको बजारीकरण नहुँदा सोचेअनुसारको आम्दानी नहुने पनि उनको दुखेसो छ।

‘लेकाली भेगको जडीबुटीको मह भएकाले औषधिजन्य गुण बढी हुन्छ,’ उनले भने, ‘उत्पादित महलाई स्थानीय बजारमा बिक्री गरिरहेको छु। बजारीकरण राम्रो हुने हो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ।’

राज्यबाट आवश्यक सहयोग, तामिलसँगै प्राविधिक ज्ञान पाएमा थप सहज हुने उनको भनाइ छ।

आधुनिक घारमा मौरीपालन गर्ने सोच भए पनि राज्यको निकायबाट कुनै पनि सहयोग पाउन नसकेको उनको दुखेसो छ। राज्यबाट आउने अनुदान तथा अन्य सहयोग वास्तविक किसानसम्म पुग्न नसकेको उनको भनाइ छ।

टेम्केमैयुङ–४ लुङ्गिनका कृषक रामकुमार राई २५ वर्षदेखि परम्परागत रुपमा मौरीपालन गर्दै आएका छन्।

उनले २८ वटा मुढेघारमा व्यावसायिक रुपमा मौरीपालन गरिरहेको बताए। एक सिजनमा सबै घारबाट एक सय केजीसम्म मह सङ्कलन हुने उनको भनाइ छ।

महको बजारीकरणमा समस्या रहेको भन्दै उत्पादित महलाई बान्डिङ गरेर बाह्य बजारमा पठाउन सके मनग्ये आम्दानी लिन सकिने राईले बताए।

पराम्परागत घारमा मौरीपालन गर्दा भाग्ने जोखिम बढी हुने उनको भनाइ छ।

आधुनिक मौरीपालनको विषयमा ज्ञान नहुँदा बाध्य भएर पराम्परागत रुपमा पालन गरिरहेको राईले बताए।

‘मुढेघारमा मौरीपालन गर्दा जोखिम बढी हुन्छ,’ उनले  भने, ‘घारमा लगाएको मौरी भाग्ने सम्भावना बढी हुन्छ। भागीहाल्यो भने परिश्रम त्यसै खेर जान्छ। आधुनिक रुपमा मौरीपालन गर्ने रहर भए पनि त्यसको विषयमा जानकारी छैन। राज्यले हामी जस्ता किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिदिए व्यवसायमा थप टेवा पुग्ने थियो।’

मौरीपालनका लागि घमाइलो र नजिक वन जंगल भएको ठाउँ उपयोगी हुने किसान राईको भनाइ छ। आफूले पालेको मौरीले वन जङ्गलबाट मह सङ्लन गर्ने भएकाले चरनमा लगेर सङ्कलन गरेको महभन्दा बढी लाभदायक हुने उनले बताए।

‘हाम्रो ठाउँको मौरीको चरण क्षेत्र नै जङ्गल हो। जङ्गलबाट विभिन्न बोट बिरुवासँगै जडीबुटीबाट मह सङ्कलन गर्ने भएकाले चरन लगेर सङ्कलन गरेको महभन्दा धेरै लाभदायक हुन्छ,’ राईले भने, ‘कुनाकाप्चाको ठाउँ भएकाले हामीले यसको विषयमा सबैलाई बुझाउन सकेका छैनौं। राज्यले यस्ता अर्गानिक उत्पादनको बजारीकरणमा ध्यान दिए सहज हुने थियो।’