Wednesday, July 29

मोरङका खोलामा पहिलो पटक भेटियो माछाको गैरदेशीय नयाँ प्रजाति, कसरी आइपुग्यो नेपाल ?

नेपालअखबार,मोरङ । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ ।
दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

Advertisement

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे। यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट  तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा लेखिएको एक लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ भन्ने विज्ञान पत्रिकाको हालैको अङ्कमा छापिएको छ । स्तरीय मानिएको (क्यू टु) उक्त विज्ञान पत्रिकामा उल्लेख भएअनुसार लोहन्द्रा खोलाबाट यस माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।

Advertisement
Advertisement

पूर्वी नेपालका तमोरलगायत स्थायी नदीका ५० स्थानमा अध्ययन गरिएकामा लोहन्द्राका दुई स्थानमा यो प्रजाति र यही जातको अर्को प्रजाति भने दमकतिरका खोलाहरुमा भेटिएको लेखमा उल्लेख छ । हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए ।

Advertisement

अमेरिकाको माछा नेपाल कसरी आइपुग्यो भन्ने जिज्ञासामा अनुसन्धानकर्ता मध्येका एक जसहाङ लिम्बूले भने, “यसमा हामीले दुई बाटो अनुमान गरेका छौँ । कि कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदी प्रणालीमा गयो कि भारतबाट नदीमा खेल्दै आएको हुनसक्छ”, उनले भने, “जताबाट आए पनि यो नेपाल भित्रिएपछि यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइयो, जसकारण हाम्रा स्थानीय माछाहरु नासिने सम्भावना हुन्छ । यसले धेरै देशमा यस्तो विध्वंस मच्चाउँदै प्राकृतिक पारिस्थितिक प्रणालीलाई असन्तुलित पार्दै आएको छ ।”

उनका अनुसार यो पहिला लजालु र स्थिर बसिराख्छ तर मौका पर्दा रैथाने माछालाई आक्रमण गर्ने, टोक्ने र बच्चालाई खाइदिने गर्छ । “सन् २०१९ देखि यसको खोजीमा लाग्दा थाहा भयो कि लोहन्द्रा खोलामा यो स्थापित भइसकेको छ, सङ्ख्या निरन्तर बढिरहेको छ, अब अरु नदी तथा माछापालन गरिएका पोखरीमा विस्तार हुँदैन भन्न सकिन्न”, लिम्बूले भने,“व्यावसायिक पोखरीमा पस्यो भने यसबाट ठूलो क्षति हुन्छ । यो माछालाई खासमा एक्वारियममा राखी आनन्द लिने हो तर खानमा यो अप्रिय प्रजाति हो ।”

यो मिचाहा स्वभाव भएको गैरदेशीय प्रजातिलाई तत्कालै नियन्त्रण गर्नका लागि अनुसन्धानकर्ताहरुले सुझाव दिइरहेका छन् । अनुसन्धानकर्ताहरुले लेखमा भनेका छन्,“यसबारे थप अनुसन्धान गरी नियन्त्रण गर्न नीति निर्माण तह नै लाग्नुपर्ने हुन्छ । नियन्त्रित नगरिएमा माछा मारेर जीविको चलाउनेको जीवनयापन नै सङ्कटमा पर्ने, देशले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ भने प्राकृतिक प्रणालीलाई नै चुनौती दिन्छ ।”

तथ्याङ्कअनुसार नेपालमा यो टेरिगोप्लिक्थिस डिसजन्किटिभससहित करिब दुई सय ६० प्रजातिका माछा पाइन्छन् जसमध्ये १८ प्रजाति गैरदेशीय छन् भने १७ प्रजाति नेपालबाहेक अन्त पाइँदैनन् ।