Wednesday, July 29

मानिस जस्तै हात्तीले पनि नामले बोलाउँछन् एकअर्कालाई!

नेपालअखबार, काठमाडौं । मानिस जस्तै हात्तीले पनि अरू हात्तीलाई बोलाउन नाम राख्ने गर्छन् भन्ने खुलेको छ।

Advertisement

अहिलेसम्म मानिसबाहेक अर्को कुनै जनावरले बोलाउन नाम राखेको थाहा भएको थिएन। हात्ती मानिसपछिको सबभन्दा बुद्धिमान प्राणीमध्ये पर्छ भन्ने मान्यतालाई यसले थप बल पुर्‍याएको छ।

Advertisement
Advertisement

सोमबार माइकल पार्दो र अरू खोजकर्ताहरूले ‘नेचर इकोलोजी एन्ड इभोल्युसन’ जर्नलमा लेख्दै अफ्रिकाका हात्तीहरूले बोलाउन नाम राख्ने गर्छन् भनेर दाबी गरेका छन्।

Advertisement

पार्दोले केन्याका दुई समूहका हात्तीहरूको वर्षौंदेखि रेकर्ड गरिएको आवाजको अध्ययन गरेर सो कुरा पत्ता लगाएका हुन् भनेर ‘द इकोनोमिस्ट’ ले लेखेको छ।

सम्बुरू राष्ट्रिय आरक्षमा रहेका हात्तीको सन् १९९७ देखि रेकर्ड गरिएका आवाज र अम्बोसेली राष्ट्रिय निकुञ्जका हात्तीको सन् १९७२ देखि रेकर्ड गरिएका आवाजको अध्ययन गरेर पार्दोले सो कुरा पत्ता लगाएका हुन्। पार्दोले ती दुई ठाउँका हात्तीको अध्ययन गर्ने अघिल्ला खोजकर्तालाई आफ्नो लेखको सह-लेखक बनाएका छन्।

आर्टिफिसियल इन्टेलिजन्स (एआई) प्रयोग गरेर हात्तीका यी रेकर्डिङ र कुन आवाज कसप्रति लक्षित थियो भन्ने सूचनाको अध्ययन गर्दा हरेक हात्तीको बेग्लाबेग्लै नाम भएको खुलेको हो।

हात्तीले ठूलो आवाजमा कराउने मात्रै नभएर मसिनो आवाजमा कैयौं किलोमिटर परसम्म जमिन कम्पन हुने गडगडाहट गर्छन्। यस्ता गडगडाहटको आवाजको अध्ययन गरेर हात्तीले नाम राख्छन् भन्ने खुलेको हो। पार्दोका अनुसार यस्तो आवाज निकाल्नेले सन्देश पाउनेको आवाजको नक्कल गरेको होइन। बरू त्यो आवाज सन्देश पाउनेको नाम हो।

यसका लागि विभिन्न कुरा सुक्ष्म रूपमा केलाइएको थियो।

पहिलो, कुनै हात्तीले बोलाउन निकालेको आवाज कुन हात्तीप्रति लक्षित हो भनेर भविष्यवाणी गर्न सकिन्छ।

अर्को, जसलाई बोलाउन निकालिएको आवाजको रेकर्डिङ बजाइएको हुन्छ, त्यो हात्तीले उत्साहजनक प्रतिक्रिया जनाउँछ। अरू हात्तीले त्यो रेकर्डिङमा खासै उत्साहजनक प्रतिक्रिया जनाउँदैनन्।

त्यस्तै, कुनै एक हात्तीले अर्को कुनै एक हात्तीलाई बोलाउँदा जुनसुकै समयमा पनि उस्तै उस्तै आवाज निकालेको पाइएको थियो।

अनि, विभिन्न हात्तीले कुनै एक हात्तीलाई बोलाउन निकालेका आवाज उस्तै-उस्तै सुनिन्छन्। यसको मतलब सबै हात्तीले कुनै एक हात्तीलाई एउटै नामले बोलाउँछन् भन्ने बुझिन्छ।

यी सबै कारणले हरेक हात्तीको नाम हुने र उसलाई अरू हात्तीले बोलाउन नामअनुसारको उस्तै खाले आवाज निकाल्छन् भनेर बुझिने पार्दोले लेखेका छन्।

तर हात्तीले धेरै टाढा रहेका हात्तीलाई सन्देश पठाउन मात्र यस्तो नाम आवाज निकाल्ने पनि अध्ययनले देखाएको छ।

‘द गार्डियन’ का अनुसार बच्चाभन्दा वयस्क हात्तीले नाम जनाउने आवाज निकाल्छन्। यसको अर्थ, अरू हात्तीको नाम जनाउने आवाज निकाल्न सिक्न वर्षौं लाग्न सक्छ।

हात्तीमा भएको नामले बोलाउने क्षमता र यो क्षमताको विकासबारे थप अध्ययन हुनुपर्ने पार्दो लगायतले लेखेका छन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)