
नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार बर्षे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदा ५९ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आर्थिक वर्ष भन्दा ४.०४ प्रतिशतले बढोत्तरी भएको अवस्था छ ।
मुलुकको लागि आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग रहेको छ । फलस्वरूप, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म करिब धान, धानको बीउ, चामल र कनिका गरी कूल ७ लाख ५३ हजार मेट्रिक टन धान जन्यवस्तु आयात भएको छ भने करिब ३८ अर्ब ९४ करोड रुपैयाँ बिदेसिएको महानिर्देशक सन्जेलले बताए ।
उनका अनुसार नेपाल कृषि अनुसन्धान परिषद्बाट धानबालीका विभिन्न १४० भन्दा बढी जातहरू दर्ता भएका छन् ।

